प्रकाशित मिति : बुध, चैत्र १२, २०७६


‘अनिकालमा बिऊ जोगाउनु, भिडभाडमा जिउ जोगाउनु’


‘अनिकालमा बिऊ जोगाउनु, भिडभाडमा जिउ जोगाउनु’

माथीको शिर्षक हामी सबैलाई प्रायः कण्ठ छ, उस्तै परे यसको विषयमा हामी ठूलै बहस गर्न पनि सक्छौं । तर, यसको प्रयोगमा भने हामी असाध्यै कमजोर तहमा छौं । यो कथन नेपाली उखानका रुपमा प्रयोग भएता पनि यो कुनै दर्शन भन्दा कम्ती छ जस्तो लाग्दैन, किनकी दीर्घकालनमा समेत ठूलो अर्थ राख्ने गरि कसैले अनुसन्धान गरेर होस् वा आँकलन गरेर नै किन होस्, यस्तो ज्ञान दिन सक्नु सानो कुरा पक्कै होईन । अहिले हामी मात्र नभई विश्व नै एउटा जिवाणुसँग लडिरहेको छ । यो बेला महाशक्ति भनिएका राष्ट्रहरुको हालत न नाजुक छ भने हामी जस्ता देशहरुको विषयमा त के नै भनिरहनुपर्ला र !

नोबेल कोरोना नामको जिवाणुका कारण भएको क्षति त हामी अहिले फुर्सदिलो समयमा आवश्यक भन्दा पनि बढी जानकारी लिन भ्याएका छौं र मानिसहरुले जानकारी पनि अपडेट गरिरहेकै छन् । तर, यसले आगामी दिनमा पार्ने प्रभाव भने विकराल नहोला भन्न सकिन्नँ । चीनले व्यहोरेको घटनापछि अहिले ईटाली, फ्रान्स लगायतका देशहरुको स्थिती हेर्ने हो भने असाध्यै संयमित र धैर्यका साथ सजग हुनैपर्ने अवस्था छ । उसै त जनसंख्या वृद्धि दर न्यून हुँदै गईरहेको यूरोपमा यो अवस्था लम्बिने हो भने एउटा पुस्ता नै संकटमा पर्ने डर देखिएको छ । भौतिक रुपमा भएका विश्वयुद्ध भन्दा पनि डरलाग्दो रुपमा देखिएको यो भाईरसका कारणले उत्पन्न हुन सक्ने संकटले मानव जीवनमा अनेक खालका अभावहरुको सामना गर्नुपर्ने खतरा देखिन सक्छ ।

सर्वश्रेष्ठ प्राणीका रुपमा स्वघोषित हामी मानिस विकासका र विलासिताका अनेक संरचना निर्माण गर्ने सामथ्र्य राख्छौं । विकासको उचाईमा को कति माथी जाने भनेर हरेक ठूला देशहरुको आफ्नै किसिमको शीत युद्धमा होमिन सक्छौं । एक ठाउँमा बसेर कोशौंको दूरीमा क्षेप्यास्त्र हान्न सक्ने र भयंकर क्षति गर्न सक्ने हतियारहरु निर्माण गर्न सक्छौं । तर, ठूला खाले प्राकृतिक र अन्य खाले विपतहरुमा अरुलाई उद्दार गर्न त परैको कुरा आफैंलाई समेत जोगाउन सक्ने ताकत राख्न मुश्किल रहेको त हामीले देखिसकेका छौं ।

हाम्रो अवस्था
२०७२ सालको भुकम्पको ठूलो धक्का बेहोरिरहेको नेपालले अर्को खालको धक्का व्यहोर्नु प¥यो, नाकाबन्दीको । त्यति नै बेला आम नेपालीको चेत केहि खुलेको थियो, कम्तिमा खानेकुरामा मात्रै आत्मनिर्भर बन्ने हो भने कुनै देशसँग झुक्नु पर्दैन । केहि अनुमान पनि थियो सरकारले अब उत्पादनको क्षेत्रका केहि खास योजना बनाउनेछ अनि उत्पादनको क्षेत्रमा केहि सुधार देखिन्छ, जब आयात सहज बन्दै गयो, हामीले नाकाबन्दी पनि बिर्सियौं अनि आयौं पुरानै लयमा ।

तर, अहिलेको अवस्था त्यस्तो देखिँदैन । नाकाबन्दी कुनै देशले गरेको अवस्था थियो भने अहिले पूरै विश्व आफुलाई कसरी सुरक्षित राख्ने भन्नेमा देखिएको छ, यो रक्षात्मक अवस्थामा हामी आफु पनि सजग रहन सकेनौं भने नाकाबन्दी भन्दा ठूलो असर व्यहोर्नु पर्ने अवस्था आउन सक्छ । हाम्रो सरकारको गति र हाम्रो अवस्थाका विषयमा हामी जानकार नै छौं, आयातले देश धान्न पर्ने हामीले कोरोना संक्रमणको यो अवस्थामा धैर्यता राख्न, आफैंलाई नियन्त्रण गर्न र भएका हाम्रा सामग्रीहरुलाई संचय गर्न सक्ने ल्याकत राखेनौं भने संकटको अवस्था हामीले सोचेभन्दा फरक हुनेछ ।

संकटको अवस्था
विश्व संकटको घडीमा गुज्रिरहेको अवस्थामा हामी चैं सुरक्षित छौं वा रहन्छौं भन्ने भ्रम कसैले पाल्यो भने त्यो भन्दा ठूलो दुर्दशा केहि हुनेछैन । चीनमा बढिरहेको कोरोनाको अवस्था हेरेर सतर्कता नअपनाउँदा अहिले विश्वमा फैलिएको र ज्यान गएका मानिसहरुको अवस्था हेर्दा मन चस्स हुने खालको छ । तत्काललाई यो संकट मानव संकटका रुपमा देखिएको छ, यो अवस्था लम्बिएको खण्डमा विकासोन्मुख मुलुकहरुमा भोकमरीका कारण ज्यान गुमाउने संख्याले अहिलेको महामारीको संख्यालाई उछिन्न सक्छ ।

विश्व खाद्य संगठनका अनुसार अहिले पनि विश्वका करिब ८० करोड मानिसहरु भोकमरीकै चपेटामा छन् भने उनीहरु दैनिक यस्ता खाले ‘भाईरस’सँग लडिरेहका छन् । यो महामारीका बीच चीनले ६१ दिन गरेको लकडाउनले त्यहाँको उत्पादनमा मात्र होईन विश्वमा पनि प्रभाव पारेको छ भने हाल अमेरिका, फ्रान्स, बेलायत, ईटाली लगायतका शक्तिशाली राष्ट्रले गरेको लकडाउनले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला ? अनि उत्पादनको अवस्था के होला ? यो परिस्थिती सहज नभएसम्म उत्पादन र निर्यातको अवस्था के होला ? विचारणीय कुरा छ ।

हाम्रो उत्पादन
उत्पादनकै कुरा गर्ने हो भने हामी करिब ६६ प्रतिशत जनताले उत्पादन गर्ने कृषि उत्पादनले हामी आफैं त पालिन सकेका छैनौं भने अन्य उत्पादनको कुरा त के गरिरहनु पर्ला र ? कम्तीमा कृषि उत्पादनको अवस्था बलियो भयो भने सहज जीवनयापन त छँदैछ, भोकमरीका कारण ज्यान गुमाउनु पर्ने अवस्था रहँदैन भने विपतमा बेला सहयोग गर्न सक्ने हैसियत समेत बन्छ । खाद्यान्न बाहेक चौपाया, पशुपंक्षि लगायतमा ३ सय १२ करोडको आयात हामीले ३ महिनामा गरिरहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ भने राष्ट्र बैंकले अध्ययन हेर्ने हो भने कालिमाटीमात्र दैनिक २ करोडभन्दा बढीको तरकारी भित्रिने गरेको छ ।

४ महिनाको अवधिमा सुक्ष्म अध्ययन गरिरहेका कृषिमन्त्री घनश्याम भुषालले कृषिको क्षेत्रमा हाल भोग्दै आएको बजारीकरण र अनुदानमा समस्या देखेर एउटा निस्कर्ष सहित कृषि उपजमा आधार मूल्य तोक्ने र बजारीकरणको समस्या देखिएमा सरकारले खरिद गर्ने घोषणा गरेका छन्, आशा गरौं यसले सफलता पाउनेछ । तर, सरकारले कसरी बजारीकरण गर्छ भन्ने विषयमा केहि बोलिएको छैन । यसबाट नेपाल सरकार पनि के कुरामा प्रष्ट देखिन्छ भने नेपाल उत्पादनको अवस्थामा मैं कमजोर देखिएको छ । रेमिट्यान्सले राम्रै धानेको नेपालमा भित्रिने रेमिट्यान्समध्ये विवाह, ब्रतबन्ध र सामाजिक कार्यमा हुने ३.५ प्रतिशतभन्दा पनि कम मात्र १ प्रतिशत उत्पादनमूलक क्षेत्रमा जाने नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

अबको संकट र समाधान
आफैंलाई नपरेसम्म चेत नखुल्ने हाम्रो बानी नै हो । हाम्रो भन्नासाथ सरकार पनि यसमा परिहाल्छ । लकडाउन गर्ने सरकारको घोषणा भएको दिनको साँझ अन्य व्यवसायीहरु फुर्सदमा देखिए पनि तरकारी व्यापारीहरु भने भ्याईनभ्याई देखिएको थियो । सरकारले एक साताका लागि भनेर जारी गरेको लकडाउनको अवस्थामा ७ दिनका लागि तरकारी जोहो गर्नेहरुको भीड तरकारी पसलहरुमा देखिएको थियो ।
संक्रमण नेपालीमा पनि देखिएको भन्नासाथ सरकारको चेत खुल्यो भने हामी जनता लकडाउन हुँदा पनि ‘साँच्चै बजार ठप्पै हो र भन्या ?’ भन्दै भीडभाडमा जान छोडेका छैनौं । हाम्रो समस्या भनेकै सरकारलाई नटेर्ने नै हो । किनकी सरकारका विरुद्ध (जो सरकारमा रहे पनि) जुलुस र नाराबाजी गर्ने बानी परेका हामी सरकार सधैं हामीलाई ख्यालख्याल लाग्छ । त्यसैले अबको संकट भनेको कोरोनाको सन्दर्भमा हाम्रो ‘अटेरीपना र ख्यालख्याल गर्ने बानी’ हुन सक्छ ।

चैत १२ गते बिहानै एकजना मित्रले फोन गरेर पीडा सुनाए, ‘बारीमा काउली र गाजर छ, कहाँ लगेर बेच्ने होला ?’ दिउँसो रसुवाका साथीले सोधे, ‘लोकल कुखुरा १ गाडी जति छ, के गर्ने होला, अन्न खुवाउन पनि गाह्रो र बेच्न पनि ।’ यी केहि प्रतिनिधी घटना मात्रै हुन् । यो अवस्थामा सरकारले उत्पादित उपजहरुको संकलन र भण्डारण गरि अनिकालको अवस्था सिर्जना हुन नदिनु नै बुद्धिमानी हुनेछ भने आम मानिस भिडभाडमा नगई ज्यान जोगाउनु नै उत्तम हुनेछ ।

कोरोना संक्रमण कम हुनासाथै मानिसहरु असरल्ल बजारमा देखिन थाल्नेछन् । नियन्त्रण नै भएजसरी हुलमुल र भीडभाडमा उत्रिन सक्नेछन्, यसकारण यो पूरा नियन्त्रणमा नआएसम्म सरकार कठोर बन्नुपर्छ भने यो संक्रमणको नियन्त्रणपछि र अघि पनि विभिन्न सामग्रीहरुको कृत्रिम अभाव देखिन सक्छ । स्थानीय, प्रदेश र संघिय सरकारले यसमा नियन्त्रण राख्न सबै संयन्त्र परिचालन गरोस् । अन्यथा यसको दूरगामी असर व्यहोरेर पछुताउनुको विकल्पबाहेक केहि हुने छैन । एउटा गजबको भनाई छ, ‘ज्ञानीले देखेर चेत्छ, अज्ञानीले परेर ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट