प्रकाशित मिति : बुध, माघ २२, २०७६


जग्गाको जगजगी, कृषि र उद्योगको दुर्गति


जग्गाको जगजगी, कृषि र उद्योगको दुर्गति

‘सस्तो ब्याजमा ऋण लिन राष्ट्रिय वाणिज्य बैंक आउनुस्’ पुस ११ गते एक अनलाईनमा राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरणकुमार श्रेष्ठको यो भनाई सहितको अन्तर्वार्ता प्रकाशित छ । यस्तै प्रकृतिको अर्को हेडलाईन भएको समाचार पनि अनलाईनमा पुस ८ गते प्रकाशित थियो, ‘३ प्रतिशत ब्याज मैं ऋण लिनुस्’ । समाचारको प्राथमिकता र वाणिज्य बैंकको यो प्रचार देख्दा लाग्छ सरकारी बैंकले उद्योग बढाउन राम्रै प्रयास थालेको छ । तर, सरकारी प्रक्रिया, त्यहाँमाथी ऋण सहजै पाईने भए सायद यसरी विज्ञापन शैलीमा समाचार आउदैन पनि थियो होला । तर, यो प्रयासको सराहना गर्नै पर्छ ।

पहिले कुरा गरौं, ३ प्रतिशत ब्याजको । सरकारले सीप र ज्ञान भएका तर लगानी नभएका, प्रमाण पत्र धितो राखेर केहि गर्ने चाह भएका, विदेशबाट फर्केर केहि गर्ने मनासाय भएकाहरुलाई विना धितो कर्जा दिने सरकारको योजना छ । सरकारले यसरी कर्जा दिने भनेपछि विदेशबाट फर्केका १२ सय यूवाहरुले आवेदन दिएका छन् । यसलाई कसरी प्रभावकारी बनाउने तथा उद्यमतर्फ कसरी लैजाने भन्ने चुनौति पनि एकातर्फ छ ।

३ प्रतिशत ब्याजमैं ऋण पाउने भनेको सरकारले दिने ब्याज अनुदानको आधारमा हो । ब्याजदर ३ प्रतिशत वा त्यो भन्दा कम बेशी भन्ने कुरा ऋण लिने बैंकको आधार ब्याजदरले निर्धारण गर्ने कुरा हो । अहिले कुरा गरिएको राष्ट्रिय वाणिज्य बैंकको हो । जसको हालको आधार ब्याजदर ६.३३ छ । आधार ब्याजदरमा २ प्रतिशत जोडेर हुने अंकमा सरकारले ५ प्रतिशत अनुदान दिने हो । जसका कारण वाणिज्य बैंकको ब्याजदर ८.३३ बाट झरेर ३.३३ पर्न आउँछ । यो फेरि सबै बैंकमा यहि अनुपातमा भने हुँदैन । त्यसकारण यो ब्याजदर र कार्यान्वयनमा जाने कुराले महत्वपूर्ण भूमिका निभाउँछ ।

उद्योगको अवस्था

काठमाडौंस्थित एक टायल उद्योगका मित्रले चिया गफको सिलसिलामा भने, ‘टायल उद्योगमा गरेको लगानीको आधा रकममात्रै जग्गामा लगानी गरेको भए, आज राम्रो मुनाफा हुन्थ्यो, पोर्टफोलियो मिलाउन सकिएनछ ।’ उनको यो कुराबाट के बुझ्न सकिन्छ भने उनको उद्योगबाट उनले बैंकको ब्याज तिर्न मात्र सकेका छन्, खासै फाईदा लिन सकेका छैनन् । सिधा उनले यो कुरा नस्विकारे पनि घुमाउरो तरिकाबाट उनले उद्योग भन्दा घरजग्गामा नै बढी आम्दानी हुने स्विकारे ।
बैंकबाट ऋण लिएर स–साना उद्योग, व्यवसाय गरेकाहरुको अवस्थाको बारे अध्ययन गर्ने हो भने उद्योग वा कलकारखाना भन्दा जग्गामा पैसा लगाउँदा बढी फाईदा हुने देखेर यसतर्फ आकर्षित हुनेको संख्या ठुलो छ । काठमाडौंको बसुन्धारास्थित एक खाजा पसल चलाउने एक दम्पतिले मसँग सोधे, ‘सरले कहाँ जग्गा लिनु भएको छ ?’ मैले जवाफ नदिई उल्टै प्रतिप्रश्न गरें, ‘बरु तपाईंले चैं कता जोड्ने भो ? ‘कपनमा दुई वर्षअघि १३ लाखमा किनेको’ मैले सोधें, अहिले बेच्दा कति आउँछ त ?’ उनले भने, ‘खोई ! ६० लाखमा देउ भन्दै आथ्यो त्यहिँको मान्छे, मैले दिईनँ ।’

यहाँ विचार गर्नु पर्ने कुरा के हो भने दुई वर्षमा १३ लाख लगानी गरेर कुन व्यवसायले दिन सक्ला ६० लाख ? त्यसकारण पनि जग्गाप्रतिको आकर्षण अनि कुनै झन्झट विना सिधा कमाई हुने भएपछि उद्योग वा कारखाना वा कृषिमा आकर्षण घट्नु अनौठो विषय होईन । अधिकांश मानिसहरुको कमाईको श्रोत जग्गा नै बनेको देखिन्छ, तर देखाउनका लागि मात्रै कुनै व्यवसाय गरिरहेको उदाहरण प्रशस्तै छन् ।

यसरी दिनप्रतिदिन जग्गाको भाउ आकाशिँदै जाने हो भने उत्पादकत्व बढी भएका समथर जमिनहरु जग्गा दलालहरुको कब्जामा रहन्छ । कारण उनीहरुसँग नै किनबेच गर्नेहरुको हिमचिम हुन्छ, जसका कारण उर्वर भूमि घर बनाउनमा जान्छ भने भिरालो जमिन कसैको चासोमा पर्दैन । यसरी जमिनको मूल्य बढिरहने कारणले पनि मानिसहरुको आकर्षण जग्गामा हुन्छ, व्यवसायमा हुँदैन, जसले कृषि र उद्योगमा ठूलो धक्का पु¥याईरहन्छ ।

कृषिको अवस्था

कृषि क्षेत्रमा सम्भावना देख्नेको संख्या अहिले ह्वात्तै बढेको छ । चाहे अनुदानको आशमा होस् वा चाहना पूरा गर्न होस्, तर कृषिमा काम गर्छु भनेर कर्जा लिनका लागि पहल गर्ने हो भने कर्जा पाउने नपाउने नै टुंगो हुन्न । पछिल्लो समय केहि यूवाहरु कृषिमा व्यावसायिकता खोजी गर्नका लागि यसतर्फ लागिरहेका छन् । उनीहरुको उत्साह, संजाल र निर्यातसम्मको लक्ष्यलाई हेर्दा केहि आशा गर्न सक्ने ठाउँहरु छन्, तर यसमा सरकारको दर्विलो साथको आवश्यकता छ । सरकारको पाँच वर्षे लक्ष्य प्राप्तीका लागि पनि यो अपरिहार्य छ, तर सरकारको यो क्षेत्रमा उपस्थिती असाध्यै फितलो छ । अहिले पनि कृषि उत्पादनमा खासै समस्या छैन, जति ढुवानी र बजारीकरणमा छ । यसकारण कृषिको विकासका लागि रणनीतिक योजना कार्यान्वयन विना यो गाह्रो छ । कृषि कर्म गरेर ठूलो मात्रमा आम्दानी गर्न सकिँदैन भन्ने मान्यता अझै व्याप्त छ । खासगरि केहि मानिसहरु यसतर्फ आकर्षित भएका कृषिमा पनि आफ्नो उपस्थिती छ है भन्नका लागि पनि हो । कृषि क्षेत्रमा आफ्नो संलग्नता देखाउनका लागि पनि उनीहरु जोडिएका हुन्, जसको उदाहरणका रुपमा मह जोडी, गगन थापा लगायतलाई लिन सकिन्छ ।

विदेशमा कृषि

जर्मनीको बोनमा पूर्ण रुपमा कृषिमा निर्भर रहेका कृषकहरुको संख्या अधिक छ । उनीहरुले वैज्ञानिक प्रविधिबाट कृषिलाई उत्पादन गरि उत्पादकत्व बढाईरहेका छन् । त्यहाँ यूवाहरुलाई कृषिबाटै रोजगारीको राम्रो अवसर मिलेको छ । कृषि उत्पादनलाई सहकारीमार्फत बजारीकरण गरि राम्रो सफलता हासिल गरिरहेका छन् । कृषकले उत्पादन गरेको उपज सरकारले नै बिक्री बितरणको व्यवस्था मिलाईदिएको छ । बोनका कृषकहरुले उत्पादन गर्ने स्ट्रबेरी, आलु, टमाटर लगायत फलफूलहरुको बजार राज्यले नै निश्चित गरिदिएका कारण त्यहाँका जनताको मुख्य आम्दानीको स्रोत नै कृषि रहेको छ । करिब ३ प्रतिशतले कृषि गर्ने ईजरायल आज विश्वकै उदाहरणीय देश बन्दा हामी करिब ६६ प्रतिशतले कृषि गर्ने देश बर्सेनि अर्बौंका कृषि उपज आयात गरिरहेका छौं, कारण के हो भने उपजहरुको सहि व्यवस्थापन हुन नसक्नु ।

जापानले ४० हजार नेपाली कामदार लाने भो भन्दै हामी खुशी भयौं, कारण राम्रो कमाई हुने देशमा अब छोराछोरी जान पाउने भए । तर, वास्तविक कुरा के हो भने जापानमा पछिल्लो दशकको जनसंख्या वृद्धि दर घट्दोमा छ, यो भनेको मानिसको संख्या कम हुनु हो । मानिसको संख्या कम हुनु भनेकै देशको जनशक्ति कम हुनु हो । जव देशको जनशक्ति कम हुन्छ, उत्पादकत्व कम हुन्छ । यसरी जापान वा कुनै मुलुकले कामदार लानु भनेको नेपाललाई माया गरेर होईन, उसको आवश्यकता पूरा गर्न हो ।

बैंकको कर्जा र व्यवस्थापन

अहिले बैंकमा कर्जा लिन जानका लागि गाडी वा जग्गा लिन चाहेमा चाँडै कर्जा पाईन्छ, तर कृषकले कर्जा लिन सानो आँटले पुग्दैन । वाणिज्य बैंकहरुले ब्याज अनुदानमा दिने कर्जालाई व्यवस्थित गर्न सक्ने हो भने मात्रै पनि कृषि वा उद्योगले राम्रै फड्को मार्ने सम्भावना देखिन्छ । कृषिमा पनि साना उद्योेगहरु जस्तै : शीत भण्डार, भुगोलमैत्री ढुवानी सेवा, तरकारी बजार, ग्रेडिङ तथा प्याकेजिङ उद्योग, प्रशोधन केन्द्र, जुस, केचप वा सिरप उद्योग, डेरी वा छुर्पी उद्योग जस्ता क्षेत्रमा लगानी बढाउने हो भने पनि कृषि क्षेत्रमा व्यापक परिवर्तन सकिन्छ भने उद्योगहरु पनि फष्टाउन सक्छन् ।

अहिले पनि हामी कहाँ उत्पादन नभएको होईन, उत्पादन नहुने भए कहिलेकाँही ‘कृषि उत्पादनले बजार पाएन’ भनेर समाचारका शिर्षकहरु बन्ने थिएनन् । हामीकहाँ भएको प्रमुख समस्या भनेको उत्पादित उपजको सहि व्यवस्थापन भएन भन्ने नै हो । महेन्द्रनगरको शुक्लाफाँटामा उत्पादित गोलभेडा स्थानीय बजारमा २ रुपैयाँमा पनि बिक्री नहुँदा काठमाडौंमा उपभोक्ताले ४० रुपैयाँको गोलभेडा पकाईरहेका हुन्छन्, त्यसकारण कहाँ के उत्पादन हुने हो र बजार कहाँ छ भनेर काम गर्न सके कृषिमा सफलता हासिल गर्न ठूलो चुनौति छैन ।

(सिग्देल कृषि उद्यमी/अभियन्ता हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट