प्रकाशित मिति : बुध, माघ २२, २०७६


दशैं, उसिनेको टाइचिन धान अनि दशा


दशैं, उसिनेको टाइचिन धान अनि दशा

माथ्ला घरे ठूलो काकाकोमा उसिनेको टाइचिन धानको बास्नाले रातभरी निन्द्रा लागेन । निन्द्रा नलागेको टाइचिन धानको बास्नाले हैन, हाम्रोमा चाहिँ कहिले उसिन्छ्न् भनेर हो । रातभरी खुल्दुली चलिरह्यो । कहिले बिहान होला जस्तो भयो । हुन पनि घरमा टाइचिन धानको चिउरा कुटेर ल्याएपछि मात्र दशैं आए जस्तो लाग्थ्यो। त्यसो त हिजो दिउँसभरी डाँडाघरे काकाकोमा ढिकी कुटेको आवाज पनि सुनेको थिएँ, अनि तल्ला घरे साहिँली भाउजु खै के के को कुट्दै थिइन्। खल ट्याङ ट्याङ पार्दै थिइन्। सायद मसला पिँधेकी होलिन्। तर मन चाहिँ त्यही टाइचिन चिउरामै गएर अड्क्यो। र त, रातभरको निन्द्रा खाइदियो।
कुखुरी काँ खोरमा थुनेर र राखेको भाले बास्यो। तिन ताका घडि भने नि अलार्म भने नी त्यही बास्ने भाले थियो। आमा उठेर दैलो लिप्न थालिन्। तर मेरो मन आमा हैन बा कहिले उठ्छन् भन्ने मैं थियो। आमा उठेर दैलो पोतिन् अनि भैंसीको भकारो सोहोरेर पानी खुवाइसकेपछि कौलासिन्। ‘ए ठुलेका बा उठ्नु’स् भैसी कल्चौंडो रन्केर कराउन थालिसक्यो।’ बा बिउँझिए । अनि मैले किन्चित पनि ढिला नगरी, मौका गुम्ला झैँ एकै सासमा भनें, ‘बा हाम्रो हाम्रो चाही धान कहिले उसिन्ने ?’ बाले झोक्केर भने ‘के भन्छ यो बिहान बिहान ?’ अनि रुन्छे स्वर पार्दै भनें, माथ्ला घरमा त उसिनिसके। हिजो राजुले भनेको त्यसको बा आज सहर जाने रे चिउरा कुट्न।’ अनि बाले मेरो टाउकामा सुमसुम्याउदै भने, ‘हाम्रो नि अब भोली उसिन्ने।’

मन कम्ता खुसी भएन। हाम्रा पनि अब भोलीबाट दशैं आउँछ भनेर। त्यसो त दशैं आको महसुस एक महिना अघिदेखि नै भाको थियो। बिद्यालयबाट घर फर्कदै गर्दा आँगनमा बाख्रा करायो। खोरमा बाँधेको बाख्रा फुकेछ भनेर हेर्न गएको त हैन रहेछ। खसी पो रहेछ । भकारो सोर्दै गरेकी आमालाई सोधेँ, कस्को खसी भनेर। ‘तेरा बाले दशैलाइ भनेर पल्ला गाउँबाट किनेर लेराका ।’ घरमा भएको खसी अलि धेरै नै सानो भएकोले बाले दशैं आउनु भन्दा एक महिना पहिलै खसिको जोहो गरिसकेका रहेछन्। कम्ता फुरुङ्ग भएन मन । मनमनै अब दशैंसम्ममा यो खसिलाई अझै ठुलो बनाउछु भन्ने अठोट पलायो। किताब त्यही मझेरिको टाँडमा मिल्काएर हिडें बारितिर । खसिलाई मन पर्ने मन पर्ने घाँस काट्न भनेर। आमा पानी लिन पधेरा जा भनेर कराउदै थिन्, किन सुन्थेँ र ? जसरी भए नी खसिलाई ठुलो बनाउनु थ्यो । त्यसै दिन देखी मेरो दैनिकी फेरिएको थियो । बिहान जुरुक्क उठेर खसिको लागी भनेर घाँस काट्न जाने, पानी लिन पधेरा जाने । फेरि बेलुकी स्कुल बाट फर्केपछि पनि त्यही रुटिन ।

कतिखेर भोली होला जस्तो भयो दिउस भरी । स्कुलमा आज दशैं बिदाको कार्यक्रम थियो। एउटा नाटकमा म पनि थिएँ । खै कुन्नी के भुमिका थियो अहिले बिर्सें । दिउसभरी रमाइलै भयो। दिउसो त त्यसै बित्यो। तर रात हिजोको जस्तै भयो। निन्द्रा परेन। बिहान उठ्ने बित्तिकै बाले आँगनको छेउमा ढुंगा ल्याएर चुलो बनाए। हाम्रो पनि चामल उसिने। अनि भोलिपल्ट बिहानै उठेर धानको धोक्रो बेकेर सहर तिर लागे। हिँड्ने बेलामा आमाले मझेरी बाटै भनिन्, ‘धोती चाही खद्दरकै है।’ चिउरा कुट्न सहर गाका बाले फर्कदा चिउरा मात्र लेराउन्न थे। दशैंको लागि लुगा पनि।

सहर भनेको काठमाडांै। जम्माजम्मी ६ किलो मिटरको दुरी भए नि चिउरा कुट्न गाका बा भोली नभै फर्कन्न थिए। हिँड्ने बेलामा बाले अराए गोठाला जानु। अनि फेरि भन्न भ्याए । खोलामा चाहिँ नपसी हाल्नु । गोठाला जानु पर्ने कोल्पु खोलाको बगर। कोल्पुखोला भनेसी सधैं मन फुरुङ्ग हुन्थ्यो। कारण थियो खोला तरेपछि पारिपट्टी उखु चोरेर खान पाइने। अझ अरु साथिहरुको लागी त खोला मा पौडी खेल्न पनि पाइने। तिन ताका कोल्पु खोलाको पानी कञ्चन थियो। ओखरपौवामा काठमाडौंको फोहोर फाल्न थालिसकेको थियन सायद । ओखरपौवा डम्पिङ साइड सुरु भएपछी कोल्पुखोलाले आफ्नो स्वरुप कहिलै पाएन। सायद अब पाउन्न पनि । पौडि खेल्न जान्ने केटाहरु दिउसभरी त्यही खोलामा पौडी खेलेर बस्थे। म भने त्यो खोला तर्ने आट कहिल्यै गर्न सकिनँ । उखु खानुनै थियो। तर खोला तर्न कहिलै आट आयन। अनि साथिहरुले एउटा सर्त राख्थे। उनिहरुले मलाइ उखु भाचेर लेराइदिने, त्यस बापत मैले उनिहरुको गोरु हेर्दिनुपर्ने। अनि उनिहरु दिउसभरी ढुक्कले पौडी खेलेर बस्ने। मान्न विवश थिएँ । के गर्नु, आखिर त्यही उखुको लागी त गोठालो जान रमाइलो लाग्थ्यो।

भोलीपल्ट गोठालोबाट फर्कदा आमाको मुहार चम्किलो थियो। कारण बा आइसकेका रहेछन्, अनि आमाले भनेकै खद्दरको धोती लेराइदेका रहेछन् । म पनि आँगनमा पुगेसी मेरो चालको गति एक्कासी बढ्यो। हत्त न पत्त भित्र छिरिहाले मलाइ पनि के के लेदाइदेका रहेछन् भनेर। पाहोर सिलाएको सर्ट र पाइन्ट तिनचोल्टी च्यातिएर सल्लेली भिनाजुकोमा सिलाउन लगिसके। (गाउँका सोझा भिनाजु थिए । पारी सल्ले भन्ने ठाउँबाट आएर हाम्रा गाउँकै दिदि बिहे गरेर यतै घरजम गरेर बसेका हुनाले उनलाई सबैले सल्लेली भिनाजु भन्थे।)

पोहोर किनेको हात्तीछाप चप्प तिनचोटी त गासी सके। गाँस्दा गाँस्दा अब त खुट्टै नछिर्ने भैसक्यो। यता पैताला नेरको भाग खिइएर पैतालाले भुइँ छुन थालेको भदौदेखिनै हो। मलाइ नि बाले सर्ट, कट्टु र पाइन्टको एउटै थानको बुट्टे कपडा लेराइदेछन्। सस्तो पर्छ भनेर। अनि काली (बहिनी) लाई चाही घाँगर। सर्ट र कट्टु बुट्टेवाला राम्रै हो। पाइन्ट चाहीँ सिलाइसकेपछि त्यती मन परेन। तर के गर्नु ? कुनै उपाय पनि थिएन, किनकी नायँ लुगा लाउन पाउने भनेकै दशैंमा मात्रै न हो ।

यसपाली हात्तिछाप चप्पल नपाएर हात्तिछाप जस्तै बलियो भनेर कुन्नी कुन हो चप्पल लेराइदेका थिए बाले। नयाँ लुगा नयाँ चप्पल। कम्ता मन फुरुङ्ग थिएन।

दशैं सुरु भैसकेको थियो। हिजो गाउँमा सबैले फुलपाती भित्र्याइसकेका थिए। बिहानैदेखी चटारो। नुहाउन पर्ने, पूजा गर्न पर्ने, अनि खसी खुइल्याउन पानी तताउन पर्ने। बा साबिक भन्दा अलि छिटै उठे त्यो दिन। अनि मलाइ नि उठाए। अनि बा र मसंगै पधेरा गयौं । मेरो भागको काम (जहिलै पूजा गर्न पर्ने) तिर लागे। त्यो दिनको पूजा अलि लामो समएको हुने। देबि देउता, जमरा मात्र पूजा गरेर नपुग्ने। बिश्वकर्मा पूजा मनाउने चलन नभएकाले त्यसै दिन कृषि औजारको पनि पूजा गर्नु पर्ने। अनि आँगनको बिचभागमा गोबर र रातो माटोले पोतेर घिरौंलालाई पुजा गरेर मार हान्नु पर्ने, त्यसै दिन। बल्ल बल्ल भ्याइयो। खसी मार हान्ने माइला दाइ पनि आइपुगे। बा पानी उमाल्दै थिए।

गाउँमा मार हान्न आँट भाका थोरै मध्येका एक हुन गैरा घरे हरि काकाका माइलो छोरा माइला दाइ। त्यसैले हरेक बर्ष दशैमा खसि काट्ने दिन उनलाइ भ्याइ नभ्याइ हुन्छ। हतार हतार आए। राम्ररी नि पर्सन नपाइ मार हाने। तिन चोटिको पालामा छिनाए। ‘अब बित्यासै पार्ने भो। लौन के दशा आइलाग्यो?’ भन्दै आमा भित्रबाट अत्तालिदै बाहिर निस्किइन्। दशैंमा खसी छिनाल्न एकपटक भन्दा धेरै चोटी लाग्यो भने दशा लाग्छ रे। गाउँमा त्यही बिश्वास थियो र अहिले पनि छ । ‘नसक्नेले किन मार हानेको हो?’ आमा भुत भुताउदै थिइन्। ‘भो भो, नकरा जे हुनु भैगो। अब कराएर के गर्छस? बिचाराले जानी जानी गरेको हो र? काम गर्दा कहिले कहि त त्यस्तै भैहाल्छ नि ।’ बाले आमालाइ गाली गरे। अनि आमा भित्र गइन् । माइला दाइ पनि अलि हतार भएकाले हिँडे।

उता मुलबाटोमा बरको रुखमा पिङ हालेको थियो। हप्ता दिनदेखि खोजेर जम्मा पारेको बाबियोलाई तिन चुल्ठा पार्दै बटारेर पिङ बाट्ने काम अनि बाटेको पिङलाई बरको रुखमा हाल्ने काम हिजै भैसकेको थिएन । अनि त्यही बरको फेदमा बसेर लङ्गुरबुर्जा खेलाइरा थिए श्यामलाल दाइ । हरेक चाड आउँदा उनको काम त्यही हुन्थ्यो।

कतिखेर मासु पाक्ला र खाएर मुलबाटो जाइहालौं जस्तो भाको थियो। नखाइकन जान आमाले मरे जान देको हैन । ‘तँलाइ खानु नि पर्दैन। मुलबाटो गएसि उतै हराउँछ। लौ नखाइकन जा त ?’ आमाले उर्दि जारी गरिन्, ‘बरु जा तल गोठमा गएर गोरुलाइ पानी खुवाएर आइजो अनि खोस्टा पनि हाल्देर आइजो । त्यही गोरु नी नभए के ले जोत्ने हो यत्रा खेतबारी ?’ आमा भुतभुताउन थालिन्। अनि म पनि यिनको कच कच सुन्नु भन्दा गोठतिरै लाग्नु बेस भनेर गए। फर्कदा मासु पाकिसकेको रहेछ। टाइचिन चिउरा र मासु गोठबाट फर्कदा बाटैमा मन मनै कल्पना गर्दै आइरहेको थिए। भोक पनि लागेको थियो। खुब मिठो भयो। कतिखेर खाइसकौला र मुलबाटो जाम जास्तो भा थियो। कारण उहि बरको बोटको पिङ र फेदको लंगुरबुर्जा । पोहोर १ सुका लेर गएर २ रुपैयाँ बनाएको स्वाद बर्षैभरी सम्झनामा रहिरह्यो। अनि पोहोरको साल मैले पुरै दशैंमा चार चोटी मात्र पिङ खेल्न पाको र सङैको साथी भुपेन्द्रले छ चोटी खेले भनेर बर्षै भरी गफ दिइरहन्थ्यो।

हतार हतार खाएर नयाँ लुगा अनि चप्पल लगाएँ। आमा कराउँदै थिइन्। मामाघर जादा लाउन पर्छ भनेर। तर मैले सुनिनँ। लुगा लगाएर दौडिन मात्र के लागेको थिएँ, आँगनमा अघि खसी खुइल्याउँदाको चिसो सुकेकै रहेनछ। नमज्जासंग पछारिएँ । घुडा नै ठोकियो। नमज्जासंग दुख्यो । त्यो भन्दा नमज्जा त आज भर्खर लाको त्यो नयाँ चप्पल छिन्यो। बा आमा नै कराउन थाले। ‘ल हेर, आँखा हेरेर हिँड्नु पर्दैन ? ल हेर नयाँ चप्पलको गति, लौन के दशा लाइरा छ ? अघि पनि खसी छिन्न तिनचोटी लाग्यो। फेरि यो ठुलेले नयाँ चप्पल छिनायो। लौन के दशा आइलाग्या छ।’ आमा फेरि कराउन थालिन्। म भने कुनै सानो दशाले ठुलै दशा कट्न भन्ने सुनेको हुनाले मख्ख थिएँ। अघि खसी काट्दा तिनचोटी लागेको दशा गयो भनेर।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट